Constitution of TDUK

Posted By: admin on March, 15 2011
”तमु प्हेताँ ल्हूताँ”

विधान

तमुधीं एसोसियसन यूके २००० (चौथो संसोधन-२०१०)

प्रस्तावना

नेपालका आदिवासी जनजाति तमु (गुरुङ) आदिम युगदेखि आजसम्म आफ्नै भाषा, धर्म, संस्कृति र परम्परामा आधारित प्हेताँ ल्हुताँ अपनाउँदै आएका छन् । अहिले यी जातिहरु संसारका धेरै देशहरु लगायत संयुक्त अधिराज्य बेलायतका विभिन्न ठाउँहरुमा बसोबास गरिरहेका छन् । तमुहरुको परम्परा, भाषा, प्हे (धर्मशास्त्र) र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उद्देश्यले सन् २००० मा तमु धीं युके संस्थाको स्थापना गरिएको हो । यो संस्थालाई क्रियाशील र प्रभावकारी बनाई संस्थागत रुपमा सञ्चालन गर्न विधानको जरुरी भएकोले यो विधान तर्जुमा गरी जारी गरिएको छ ।

परिच्छेद – १

प्रारम्भिक
१. नामः
१.१ यस संस्थाको नाम ”तमुं धी – संस्था, यूके -२०००” रहने छ । यसलाई अंग्रेजीमा ”Tamudhee Association UK – 2000 ” भनिने छ ।
१.२ संयुक्त अधिराज्य बेलायतका विभिन्न नगर/शहरहरुमा यस संस्थाको क्षेत्रीय तथा स्थानीय शाखा-प्रशाखाहरु रहने छन् ।
१.३ औपचारिक कामका लागि यो संस्थाले तमुं, देवनागरी तथा अंग्रेजी भाषाको प्रयोग गर्ने छ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमाः

२.१ संस्था भन्नाले तमुं धीं संस्था युके २००० सम्झनु पर्छ ।
२.२ विधान भन्नाले संस्थाको विधान सम्झनु पर्छ ।
२.३ समिति भन्नाले केन्द्रीय कार्यकारिणी समिति सल्लाहकार सहित र विभिन्न क्षेत्रीय इकाई समितिहरुलाई जनाउने छ ।
२.४ पदाधिकारी भन्नाले समितिमा पदासिनहरुलाई जनाउने छ ।
२.५ साधारणसभा भन्नाले संस्थाको साधारण सदस्य आजीवन सदस्य र बालसदस्यहरुको संयुक्त सभालाई जनाउने छ ।
२.५ सदस्य भन्नाले यसै विधानको परिच्छेद ३ मा उल्लेख भए बमोजिम हुनेछ ।
२.६ मानार्थ सदस्य भन्नाले तमु बाहेक अन्य जातीहरुलाई उनिहरुले संस्थालाई दिएको योगदानको आधारमा कार्यकारिणी समितिको निर्णयले प्रदान गरेको सदस्य सम्झनु पर्छ ।
२.७ संरक्षक (Patron) भन्नाले कार्यकारिणि समितिले तोकी साधारणसभाले अनुमोदन गरेको व्यक्तिलाई जनाउने छ ।
२.८ च्यारिटि कमिसन भन्नाले संयुक्त अधिराज्य बेलायतको च्यारिटी कमिसनलाई जनाउनेछ ।

३. संस्थाको आफ्नै छाप तमुँ राष्ट्रिय गान र झण्डा अनुसूची १ मा उल्लेख गरे बमोजिम हुनेछ ।

४. कार्यालयः
४.१ केन्द्रीय कार्यालय हाल बेलायतको 160-162 Mytchett Road, Mytchett, Surrey, GU16 6AE रहने छ ।
४.२ क्षेत्रीय कार्यालयहरु स्थानीय इकाईहरुले तोकेको ठाउँहरुमा रहने छन् ।

परिच्छेद – २

उद्देश्य
५. संस्थाको देहाय बमोजिमका उद्देश्यहरु रहने छन्ः
५.१ तमुंहरुको परम्परादेखि चल्दै आएको रितिरिवाज प्हेताँ ल्हुँताँको संस्थागत संरक्षण र सम्बद्र्धन गर्ने ।
५.२ तमु पे (शास्त्र), तमु च्यो क्योए (धर्मको भाषा), तमुं क्यूई (बोलिने भाषा), संस्कृति र परम्पराको सम्बर्दन र संरक्षण गर्ने ।
५.३ तमु भाषा, धर्म, संस्कृति र पुरातत्व विषयहरुको अन्वेषण र अनुसन्धान गर्ने ।
५.४ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गठित तमु संस्थाहरुको बिचमा सामंजस्य र समन्वय कायम गर्दै लैजाने ।
५.५ युवक बृद्धबृद्धा तथा अशक्तहरुको जीवन अभिवृद्धिको लागि सहयोग गर्ने । दैवी प्रकोप, प्रौढ, दिर्घरोग वा शारिरिक अशक्तताबाट दुःखमा परेकाहरुलाई सहयोग गर्ने ।
५.६ रोजगारी तथा शैक्षिक अभिवृद्धि र अन्य विषयमा सेमिनार, गोष्ठी वा अन्य कार्यक्रमहरु आयोजना गर्ने ।
५.७ आवश्यकतानुसार क्षेत्रीय इकाईहरु गठन गरी केन्द्रसंग आवद्ध गराउने ।
५.८ संस्थालाई बेलायतको च्यारिटी कमिसनमा दर्ता भए बमोजिमको निति. नियम अनुसार सञ्चालन गर्ने र अन्य बेलायती संघसंस्थाहरुसंग सम्पर्क बढाउने ।
५.९ संस्थाको मुखपत्रको रुपमा फ्रेसी पत्रिका प्रकासित गर्ने र संस्थाको वेभसाईड आफ्नो संपत्तिको रुपमा ग्रहण गरी यसलाई नियमित रुपमा सञ्चालन गर्ने ।
५.१० नेपालमा संस्थाको सम्पर्क अधिकारीको व्यवस्था गरी नेपालसंग जिवन्त सम्बन्ध बनाईराख्न आवश्यक समितिहरु गठन गर्ने ।
५.११ सस्थालाई गैर-धार्मिक, गैर-राजनीतिक र गैर-नाफामुलक संस्थाको रुपमा सञ्चालन गर्ने ।

परिच्छेद – ३

सदस्यताः

६. सदस्यको योग्यताः
संयुक्त अधिराज्य बेलायतमा बसोबास गरेका निम्न बमोजिमका योग्यता भएका व्यक्तिहरु संस्थाको सदस्य बन्न सक्नेछन् ।
६.१ १८ वर्ष माथिका जन्मजात तामुहरू ।
६.२ १८ वर्ष मुनिका र विद्यालय जाने उमेर पुगेका जन्मजात तमुंहरु ।
६.३ तमुं धी युकेलाई विशेष सहयोग गरी संस्थाको विकासमा योगदान पुर् याएका व्यक्तिहरु ।

७. सदस्यताको प्रकारः
७.१ साधारण सदस्यः पाउण्ड १० शुल्क तिरी एक कार्यकाल अवधिका लागि साधारण सदस्य बन्न सक्ने छ । संस्थालाई डाइरेक्ट डेविट गरी नियमित रुपमा आर्थिक सहयोग गर्ने तमुंहरु संस्थाको साधारण सदस्य हुने छन् । त्यस्ता सदस्यहरुको नियमित सहयोग राशी कुल २५० पाउण्ड पुगेमा स्वतः एकल आजिवन सदस्य र ४०० पाउण्ड पुगेमा परिवार आजीवन सदस्य बन्न सक्नेछ ।
७.२ एकल आजीवन सदस्यः पाउण्ड २५० तिरी एकल आजीवन सदस्य बन्न सक्नेछ ।
७.३ पारिवारिक आजीवन सदस्यः पाउण्ड ४०० तिरी परिवार आजीवन सदस्य बन्न सक्ने छ । परिवार भन्नाले लोग्ने स्वास्नीलाई जनाउनेछ ।
७.४ वाल सदस्यः धारा ६.२ बमोजिम योग्यता पुगेका तमुहरु बाल सदस्य बन्न सक्नेछन् । यसको लागि सदस्य शुल्क लाग्ने छैन ।
७.५ मानार्थ सदस्यः संस्थाको विकासमा विशेष योगदान पुर् याएका समाजका प्रतिष्ठित गैर तमुं व्यक्तित्वहरुलाई कार्यसमितिको सिफारिसमा साधारणसभाले पास गरे बमोजिम मानार्थ सदस्यता प्रदान गर्न सक्ने छन् ।
७.६ संरक्षक सदस्यः कार्यसमितिको सिफारिसमा साधारणसभाले पास गरेको अति विशिष्ठ व्यक्तिलाई संस्थाको संरक्षक घोषणा गर्न सक्नेछ ।

परिच्छेद – ४
केन्द्रीय कार्यकरिणी समिति

८. केन्द्रीय कार्यकारिणी समितिः
८.१ संस्थाको उद्देश्य परिपुर्ति गर्नका लागि धारा ७.१, ७.२, ७.३ र ७.४ मा उल्लेख भए बमोजिमका सदस्यहरुमध्येबाट पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरिने छन् ।
८.२ संस्थाको समितिको अध्यक्ष, महासचिव र कोषाध्यक्ष बन्नको लागि केन्द्रिय कार्यकारिणी समितिमा एक कार्यकाल पुरा गरेको व्यक्ति हुनुपर्ने छ । अन्य पदाधिकारी वा सदस्यको लागि तमु धी युकेको आजीवन सदस्यता लिएको वा साधारण सदस्यता लिई दुई वर्ष अवधि पुरा गरेको वा क्षेत्रिय इकाईमा न्यूनतम एक कार्यकाल काम गरिसकेको व्यक्ति हुनुपर्नेछ ।
८.३ समितिको पदावधि २ वर्षको हुनेछ ।
८.४ प्रत्येक दोश्रो महिनाको अन्तिम शनिवार कार्यसमितिको बैठक बस्नेछ । आवश्यकतानुसार अन्य समयमा पनि बैठक बस्न सक्ने छन् । समितिको ५१ प्रतिसत सदस्यहरु उपस्थित भएमा बैठकको गणपुरक संख्या पुगेको मानिने छ । सामान्य बहुमतको निर्णय नै कार्यकारिणी समितिको निर्णय हुने छ ।

८.५ समितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहनेछन् ।
१. अध्यक्ष                            १ जना
२. उपाध्यक्ष                         २ जना
३. महासचिव                        १ जना
४. सचिव                             १ जना
५. कोषाध्यक्ष                        १ जना
६. सहकोषाध्यक्ष                             १ जना
७. युवा तथा खेलकूद सचिव           १ जना
८. गोष्ठि सचिव                                १ जना
९. प्रेस सचिव                                  १ जना
१०. सम्पत्ति सचिव                           १ जना
११. कल्याणकारी तथा धार्मिक सचिव  १ जना
१२. प्रवक्ता                                         १ जना
१३. सदस्यहरु                                   १५ जनामा नबढाई ।
१४. पदेन सदस्य                              परिच्छेद ५ मा उल्लेख भए बमोजिमका क्षेत्रिय इकाईका अध्यक्षहरु केन्द्रिय समितिको पदेन सदस्य रहने छ ।

९. कार्यकारिणी समितिको काम कर्तव्य र अधिकारः
९.१ वार्षिक साधारणसभा विशेष साधारणसभा र कार्यकारिणी समितिका निर्णयहरु कार्यन्वयन गर्ने र गराउने ।
९.२ निर्देशित उद्देश्य बमोजिम काम गर्ने र गराउने । संस्था साचालनमा आवश्यक नियमावली बनाउने र लागु गर्ने ।
९.३ संस्थालाई च्यारिटि कमिसनको नीति नियम बमोजिम साचालन गर्ने । प्रतिवेदनहरु यथासमयमा तयार पारी कमिसनमा पेश गर्ने ।
९.४ कर्मचारी नियुक्त गर्ने र त्यसको काम कर्तव्य र अधिकार तोक्ने । वेबसाईडलाई संस्थाको सम्पत्तिको रुपमा दर्ता गरी साचालन गर्ने ।
९.५ विधान संसोधन गर्नु परेमा विधान मस्यौदा समिति गठन गर्ने मस्यौदा समितिले पेश गरेको विधानलाई बैठकद्वारा पारित गरी सो मस्यौदालाई साधारणसभामा निर्णयार्थ पेश गर्ने । साधारण सभाबाट पारित विधान कार्यान्वयन गर्ने र गराउने ।
९.६ संस्थाको वार्षिक प्रतिवेदन तयार गरी साधारण सभामा पेश गर्ने ।
९.७ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पद रिक्त भएमा बाँकी अवधिको लागि साधारण वा आजिवन सदस्यहरुबाट पदपुर्ति गर्ने ।
९.८ अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष सल्लाहकारहरु मध्ये १ जना र क्षेत्रिय अध्यक्षहरुमध्ये १ जना समेत भएको ७ सदस्यीय एक सचिवालय गठन गर्ने । यसले समितिको तर्फबाट लिनुपर्ने अपरझट निर्णयहरु गर्ने छ । तर सो निर्णयहरुलाई कार्यसमितिको बैठकमा अनुमोदन गर्नुपर्नेछ ।
९.९ आवश्यकतानुसार विभिन्न समिति तथा उप-समितिहरु गठन गर्ने ।
९.१० हरेक वर्ष निम्न तीन महत्वपूर्ण वार्षिक कार्यक्रमहरु आयोजना गर्ने । यो व्यवस्थाले अन्य कार्यक्रमहरुको आयोजना गर्न बाधा दिने छैन ।
क. पुष १५ अर्थात डिसेम्बर ३० मा ल्होसार ।
ख. गोर्खा कप फुटवल प्रतियोगिता ।
ग. गर्मी याममा गृष्मकालीन सांस्कृतिक टह्ोटें पर्व नेपाली मेला ।
९.११ क्षेत्रीय इकाईहरुलाई कार्यसमितिको निर्णयअनुसार निर्देशन दिने ।
९.१२ नयाँ समिति चयन गर्दा वर्तमान कार्यकारिणी समितिले संस्थाप्रतिको योगदानको आधारमा उम्मेदवारहरुको तयारी गर्न सक्ने छ ।
९.१३ नेपालमा सम्पर्क अधिकारीको व्यवस्था गर्ने र आवश्यकतानुसार सल्लाहकार सम्पर्क समितिको व्यवस्था गर्ने । जसको माध्यमबाट नेपालमा संस्थालाई आवश्यक पर्ने सवै कामहरु साचालन गर्ने र अन्य परोकारी कामहरु पनि सञ्चालन गर्ने ।

१०. कार्यसमितिको पदाधिकारी र सदस्यहरुको योग्यताः

१०.१ संस्थाको साधारण वा आजीवन सदस्यता प्राप्त गरेको व्यक्ति । बालसदस्यहरुमध्येबाट पनि समितिमा सदस्य बनाउन सकिनेछ ।
१०.२ पदाधिकारी तथा सदस्यहरुको उमेर १८ वर्ष पुरा भएको हुनुपर्नेछ । समितिको बालसदस्यको हकमा धारा १०।१ को नियम लागु हुने छैन ।

११. पदाधिकारी र सदस्य कायम नरहने अवस्थाः
११.१ मृत्यु भएमा ।
११.२ अध्यक्षले उपाध्यक्ष मार्फत र अन्य पदाधिकारी वा सदस्यहरुले अध्यक्षमार्फत कार्यसमितिमा लिखित राजीनामा दिएमा ।
११.३ विधान बमोजिम योग्यता नपुगेमा । संयुक्त अधिराज्य बेलायत छाडी लामो समयअवधीको लागि अन्यत्र गएमा ।
११.४ मुनासिव कारण नदेखाई लगातार ३ पटकसम्म बैठकमा अनुपस्थित भएमा । यस्तो अवस्थामा स्पष्टिकरणको दिनको लागि पर्याप्त मौका दिईनेछ ।
११.५ संस्थाको प्रतिकूल आचरण गरेमा ।

१२. अविश्वासको प्रस्ताब
१२.१ समितिको कुनै पदाधिकारी वा सदस्य उपर समितिका दुई तिहाई सदस्यहरुले विश्वास नभएको प्रस्ताव लिखित रुपमा समितिमा दर्ता गराएमा सो दर्ता भएको तिन महिनाभित्र बिशेष साधारणसभा बोलाई अविश्वासको लागि निर्णयार्थ विशेष साधारणसभामा पेश गर्नु पर्नेछ । विशेष साधारण सभाको उपस्थित सदस्यको २÷३ बहुमतबाट उक्त प्रस्ताव पारित भएमा उक्त अविश्वास प्रस्ताव पारित भएको मानिने छ ।

१३. साधारसभा र विशेष साधारण सभाको व्यवस्था
१३.१ समितिले प्रत्येक वर्ष साधारणसभाको आयोजना गर्नु पर्नेछ । साधारणसभाले विधानले व्यवस्था गरे बमोजिमका कामहरु गर्ने छ । संस्थाको प्रत्येक दोश्रो वर्षको साधारणसभाले केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन गर्ने छ ।
१३.२ समितिले संस्थाको दुई तिहाई सदस्यहरु वा केन्द्रिय कार्यकारिणी समितिको दुईतिहाई सदस्यहरुले विधान बमोजिम विशेष साधारणसभाको माग गरेमा सोको लागि विशेष साधारणसभाको आयोजना गर्ने छ ।

परिच्छेद – ५
सल्लाहकारको समितिको गठन

१४. सल्लाहकार समितिको गठनः
१४.१ निर्वाचनको लगत्तै कार्यसमितिको पहिलो वा दोस्रो बैठकले संस्थाप्रति आस्थावान र सामाजिक प्रतिष्ठा भएका व्यक्तित्वहरु मध्येबाट एकतीस जनामा नबढाई सल्लाहकार समितिको गठन गर्ने छ । साथै क्षेत्रिय इकाईका पुर्व अध्यक्षहरुलाई पनि सल्लाहकारमा मनोनयन गर्न सकिने छ ।
१४.२ सल्लाहकार समितिको पदावधि कार्यकारिणी समितिको एक कार्यावधिको लागि हुनेछ ।
१४.३ संस्थापक अध्यक्ष संस्थापक प्रमुख सल्लाहकार र पुर्व अध्यक्षहरुले संस्थाको हितको लागि समन्वयकारी र अभिभावकत्वको भुमिका निर्वाह गर्ने ।
१४.४ सल्लाहकार बन्नको लागि आजिवन सदस्य लिएको हुनुपर्ने छ ।
१४.५ सल्लाहकार समितिको काम कर्तव्य र अधिकार कार्यकारिणी समितिले तोके बमोजिम हुने छ ।

परिच्छेद – ६
पदाधिकारीहरुको काम कर्तव्य र अधिकार

१५. अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
१५.१ संस्थाको बैठकको अध्यक्षता गर्ने ।
१५.२ साधारणसभा र कार्यसमितिको बैठकको अध्यक्षता गर्ने र मत बराबर भएमा निर्णायक मत दिने ।
१५.३ साधारणसभा तथा आकस्मिक बैठक बोलाउन निर्देशन दिने ।
१५.४ कार्य समितिले तोकेको अन्य कार्यहरु गर्ने ।

१६. उपाध्यक्षको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

१६.१ अध्यक्षको काममा सहयोग गर्ने,
१६.२ अध्यक्षको अनुपस्थितीमा वा पद रिक्त भएमा अध्यक्षले गर्ने सबै काम गर्ने,
१६.३ अध्यक्षले तोकेको कार्यहरु गर्ने,
१६.४ साधारणसभा र कार्यसमितिबाट पारित निर्णयहरुको कार्यान्वयन गर्ने,
१६.५ कार्य समितिले तोकेका अन्य कार्यहरु गर्ने ।

१७. महासचिवको काम कर्तव्य र अधिकारः

१७.१ अध्यक्षको सल्लाह र निर्देशन बमोजिम कार्यसमितिको बैठक आकस्मिक बैठक र साधारणसभा वा विशेष साधारणसभा बोलाउने ।
१७.२ कार्यकारिणी समिति र साधारणसभाका बैठकहरुमा प्रस्तावहरु तयार गरी पेश गर्ने ।
१७.३ कार्यकारिणी समिति र साधारणसभाका बैठकहरुमा प्रतिवेदन पेश गर्ने ।
१७.४ कार्यकारिणी समिति र साधारणसभाको बैठकबाट पारित निर्णयहरु र प्रतिवेदनहरु कार्यन्वयन गर्ने र गर्न लगाउने ।
१७.५ संस्थाको दस्तावेज तथा अभिलेखहरु दुरुस्त व्यवस्थित र सुरक्षितसंग राख्ने ।
१७.६ संस्थाको तर्पुबाट पत्राचार गर्ने ।
१७.७ संस्थाको कार्य साचालन गर्ने र गर्न लगाउने ।
१७.८ कार्यसमितिले तोकेको अन्य कार्यहरु गर्ने ।

१८. सचिवको काम कर्तव्य र अधिकारः
१८.१ महासचिवको काममा सहयोग गर्ने ।
१८.२ महासचिवले तोकेको कामहरु गर्ने ।
१८.३ समितिको बैठकका निर्णयहरु उतार्ने ।
१८.४ महासचिवको अनुपस्थितीमा वा रिक्त भएमा महासचिवले गर्ने सबै कामहरु गर्ने ।
१८.५ कार्यसमितिले तोकेको अन्य कामहरु गर्ने ।

१९. कोषाध्यक्षको काम कर्तव्य र अधिकारः
१९.१ संस्थाको कोष तथा लेखा सम्बन्धि दायित्व बहन गर्ने ।
१९.२ संस्थाको आयव्यय र जिन्सीको लगत राख्ने ।
१९.३ लेखा परीक्षण गराउने ।
१९.४ साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन पेश गर्ने ।
१९.५ कार्यकारिणी समिति र साधारणसभाको आर्थिक सम्बन्धि निर्णय कार्यान्वयन गर्ने र गराउने ।
१९.६ कोष परिचालन गर्ने ।
१९.७ हरेक बैठकमा कोषको जानकारी दिने ।
१९.८ हर-हिसावहरु बैठकबाट अनुमोदन गराउने ।
१९.९ कार्यसमितिले तोकेको अन्य कार्यहरु गर्ने ।
१९.१० च्यारिटी कमिसनलाई आवश्यक पर्ने आर्थिक प्रतिवेदनहरु तयार गरी औपचारिक पत्राचार गर्ने ।

२०. सहकोषाध्यक्षको काम कर्तव्य र अधिकारः
२०.१ कोषाध्यक्षको कार्यमा सहयोग गर्ने । संस्थाको सदस्यहरुको रेकर्ड अद्यावधिक गर्ने ।
२०.२ कोषाध्यक्षले तोकेको अन्य कामहरु गर्ने ।
२०.३ कोषाध्यक्षको अनुपस्थितीमा वा रिक्त भएमा कोषाध्यक्षले गर्ने सबै काम गर्ने ।
२०.४ कार्यकारिणी समितिले तोकेको अन्य कार्यहरु गर्ने ।

२१. उप-समितिहरुको काम कर्तव्य र अधिकारः
२१.१ कार्यकारिणी समिति वा साधारणसभाको निर्णयलाई कार्यान्वयन गर्ने गराउने ।
२१.२ आ-आपुनो विभागलाई सकि्रय र कि्रयाशील राख्ने ।
२१.३ कार्यकारिणी समितिले तोकेको अन्य कार्यहरु गर्ने ।

परिच्छेद – ७
क्षेत्रिय इकाई समिति

२२. क्षेत्रिय इकाई समितिको गठनः
२२.१ संयुक्त अधिराज्य बेलायतको विभिन्न भुभागमा संस्थाको इकाईहरु गठन गर्न सकिने छ ।
२२.२ इकाईहरुले आफुलाई पायक पर्ने ठाउँमा कार्यालय स्थापना गर्न सक्नेछन् ।
२२.३ हाललाई अनुसुचि २ मा उल्लेख भए बमोजिमका इकाईहरु रहने छन् ।
२२.४ इकाईहरुको मर्यादाक्रम तिनिहरुको गठन भएको मितिको आधारमा तोकिने छ ।

२३. क्षेत्रिय इकाई समितिको काम कर्तव्य र अधिकारः

२३.१ इकाईहरुले केन्द्रको मातहतमा रही स्वतन्त्रपुर्वक कार्यक्रमहरु साचालन गर्नेछन् ।
२३.२ इकाईहरुले आफुलाई आवश्यक नियमहरु बनाउन सक्नेछन् । तर केन्द्रसंग बाझिएको हदसम्म तिनिहरु अमान्य हुने छन् ।
२३.३ इकाईहरुले तमुं धी युकेको आजीवन सदस्यता साधारण सदस्यता र बाल सदस्यता वितरण गर्न सक्ने छ । यसरी वितरण गर्दा प्राप्त हुने शुल्क मध्ये पारिवारिक आजीवन सदस्यता शुल्कको २५० पाउण्ड एकल आजीवन सदस्यता शुल्कको १५० पाउण्ड र साधारण सदस्यता शुल्कको ५ पाउण्ड केन्द्रलाई बुझाउनुपर्नेछ ।
२३.४ इकाईको अध्यक्ष केन्द्रिय कार्यकारिणी समितिको पदेन सदस्य रहनेछन् । सो सदस्य बापतको सदस्यता शुल्क इकाईले केन्द्रिय समितिलाई बुझाउनुपर्ने छ ।

परिच्छेद – ८
आर्थिक व्यवस्था


२४. संस्थाको कोषः

२४.१ संस्थाको नाममा स्थानीय बैंकमा खाता खोलिने छ । कार्यसमितिको अध्यक्ष, महासचिव र कोषाध्यक्ष मध्ये दुईजनाको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गरिने छ । तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने छ ।
२४.२ निर्वाचनपछि अर्को कोषाध्यक्ष निर्वाचित भएमा निर्वाचन भएको एक महिनाभित्र सबै लेखाहरु नवनियुक्त कोषाध्यक्षलाई बुझाई सक्नुपर्नेछ । नबुझाएमा निवर्तमान् कोषाध्यक्षमाथि कानुनी कार्वाही गर्न सकिने छ ।
२४.३ कार्य समितिले विविध प्रयोजनको लागि आवश्यक नियमहरु बनाई कोष संकलन अभियान साचालन गर्न सक्ने छ । डाइरेक्ट डेविट सहयोग संकलन अभियानलाई प्रभावकारी बनाईने छ ।
२४.४ संस्थाको आफ्नै छुट्टै कोष हुनेछ । कोषको चल-अचल सम्पत्तिलाई आम्दानीमा बाँधिने छ ।
२४.५ कोषका श्रोतहरुः
क.सदस्यता शुल्क चन्दा अनुदान प्रकाशन बिक्री,
ख. विविध कार्यक्रमहरुबाट उठेको रकम,
ग. सहयोग दाताहरुबाट संकलन हुन आएको रकम,
घ. घर भाडाबाट उठेको रकम,
ङ. वेभसाईडबाट प्राप्त आम्दानी.
च. अन्य ।
२४.६ कोष परिचालनः संस्थाको कोष कार्यसमितिले तोके बमोजिम साचालन गरिनेछ ।

२५. हिसाबको विवरणः

२५.१ कार्यसमितिले हिसाबको विवरण इजाजतप्राप्त लेखा परीक्षकबाट परीक्षण गराई प्रतिवेदन सहित प्रत्येक आर्थिक वर्ष बेलायतको च्यारिटी कमिसनमा पठाइने छ ।
२५.२ बेलायती क्यालेण्डर अनुसारको आर्थिक वर्षलाई नै संस्थाको आर्थिक वर्ष मानिनेछ ।

परिच्छेद – ९
सहयोगको प्रकार

२६. सहयोगको प्रकारः सामान्यतया संयुक्त अधिराज्य बेलायतवासी तमुहरुलाई उनीहरुले भोगेको समस्याको अवस्थालाई मूल्याङ्कन गरी राहत प्रदान गरिने छ । यस्तो राहत निम्न वर्गीकरणमा विभाजन गरिएको छ ।
२६.१ आजीवन पारिवारिक वा एकल सदस्यहरुको मृत्यु भएमा एकमुष्ठ रकम १२०० पाउण्ड उनका निकटतम नातेदारलाइ प्रदान गरिने छ ।
२६.२ साधारण सदस्यको मृत्यु भएमा एकमुष्ठ ७०० पाउण्ड उनका निकटतम नातेदारलाई प्रदान गरिनेछ ।
२६.३ साधारण सदस्य नलिएको तमुको मृत्यु भएमा आवश्यक सहयोग गर्ने ।
२६.४ दुर्घटनामा परी वा दीर्घकालिन रोगबाट पीडित भई काम गर्न असमर्थ भएका तमुहरुलाई उनको अनुरोध भई आएमा चन्दा उठाई सहयोग गर्न सकिनेछ ।
२६.५ विश्वकीर्तिमानका लागि काम गरिरहेका तमुहरुलाई आवश्यक परे चन्दा उठाई सहयोग गर्न सकिने छ ।
२६.६ संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्ने नेपालीहरुमाथि दैवि, आपत्ति परेमा अन्य संघसंस्थाहरुसंग चन्दा संकलन अभियानमा सहकार्य गरी राहत उपलब्ध गराउन सक्नेछ ।
२६.७ नेपालमा विशेषतः तमुको सक्रियतामा संचालित परोपकारी संस्थाहरुलाई सहयोग जुटाउन सकिने छ ।
२६.८ तमुधीले प्रदान गर्ने कुनै पनि सहायताको माग गर्नुपरेमा सदस्यहरुले आ-आफ्नो क्षेत्रको सिफारिससहित लिखित आवेदन अध्यक्ष वा महासचिवमार्फत बैठकमा पेश गर्नु पर्ने छ ।
२६.९ माथि नसमेटिएका तर समितिले सहयोग गर्न आवश्यक महसुस गरेकाहरुलाई पनि चन्दा उठाई सहयोग गर्न सकिने छ ।
२६.१० केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षले सचिवालयको परामर्शमा संस्थाको तर्फबाट ३०० पाउण्डमा नवढाई चन्दा सहयोग बोल्न सक्नेछ । सो रकम कार्यकारिणी समितिको त्यसपश्चातको पहिलो बैठकबाट अनुमोदन गर्नुपर्ने छ ।

परिच्छेद – १०
निर्वाचन सम्बन्धि व्यवस्था

२७. निर्वाचन समितिको गठनः
२७.१ कार्यकारिणी समितिले आफ्नो पदावधि सिद्धिनुभन्दा ६ हप्ता अगाडि तीन सदस्यीय निर्वाचन समिति गठन गर्नुपर्ने छ ।
२७.२ यसरी गठित निर्वाचन समितिले डिसेम्वर महिनाको तेस्रो हप्ता अघि संस्थाको साधारणसभा डाकी निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । साधारणसभामा न्यूनतम रुपमा संस्थाको आजीवन सदस्यहरुको २५ प्रतिसत साधारण सदस्य र बाल सदस्यहरुको १० प्रतिसत संख्याको उपस्थिती अनिवार्य मानिनेछ ।
२७.३ निर्वाचन समितिले कार्यकारिणी समितिको कार्य मुल्याङ्कनलाई प्राथमिकता दिई निर्वाचन प्रकि्रया अगाडि बढाइनेछ ।
२७.४ निर्वाचन सम्पन्न गराउन समितिले निर्वाचन सम्बन्धि नियम विनियमहरु तयार गर्ने छ । सोही नियम अनुसार निर्वाचन सम्पन्न भएको घेाषणा गरिनेछ ।
२७.५ अध्यक्ष पदको उम्मेदवारले २०० पाउण्ड उपाध्यक्ष पदका उम्मेदवारले १५० पाउण्ड अन्य पदाधिकारीमा उम्मेदवारी दिनेले १०० पाउण्ड र सदस्य पदका लागि १० पाउण्ड दस्तूर बुझाउनु पर्नेछ । इकाईको प्रतिनिधिहरुले १० पाउण्ड प्रतिनिधि पठाउँदा बुझाउनु पर्नेछ ।
२७.६ कार्यकारिणी समितिको अध्यक्षले थप एक कार्यकालको लागि संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने छ । पुर्व अध्यक्षहरुले परिच्छेद ५ धारा १४.३ मा उल्लेख गरे बमोजिमको जिम्मेवारी निर्वाह गर्नु पर्नेछ ।
२७.७ संस्थाको अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले उल्लेखित पदहरुमा बहाल रहुन्जेल अन्य संघसंस्थाहरुको प्रमुख पदहरुमा रहन पाईने छैन ।

परिच्छेद – ११
च्यारिटी कमिसन

२८. च्यारिटी कमिसनः
२८.१ संस्थालाई संयुक्त अधिराज्य वेलायतको च्यारिटी कमिसनको नीति निर्देशन र विधान बमोजिम साचालन गर्नु पर्नेछ ।
२८.२ यथोचित समयमा च्यारिटी कमिसनलाई वार्षिक प्रतिवेदनहरु बुझाउनु पर्नेछ ।
२८.३ संस्थाले च्यारिटीको सदस्य ट्रष्टिज वा संचालक समिति बनाई च्यारिटीलाई भरपर्दो संस्थाको रुपमा अगाडी बढाउनु पर्नेछ ।
२८.४ संस्थाको अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई च्यारिटीको अध्यक्ष, सचिव र कोषाध्यक्षमा नियुक्त गरिने छ ।
२८.५ सल्लाहकारहरुमध्येबाट न्यूनतम एकजनालाई ट्रष्टिजमा पठाईने छ र आवश्यकतानुसार विधान बमोजिम ट्रष्टिजको हेरफेर गरिने छ ।

परिच्छेद – १२
विधान संशोधन

२९. विधान संशोधनः
२९.१ संस्थाको विधान संशोधन गर्नुपरेमा केन्द्रिय कार्यकारिणी समितिले मस्यौदा समितिको गठन गर्ने छ । सो समितिले प्रस्तुत गरेको मस्यौदा विधानलाई कार्यकारिणी समितिको बैठकबाट पारित गरी पारित मस्यौदालाई निर्णयार्थ वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट अनुमोदन गराउनु पर्नेछ ।
२९.२ वार्षिक साधारणसभा वा विशेष साधारणसभामा उपस्थित सम्पूर्ण सदस्य संख्याको दुई तिहाई सदस्यहरुले प्रस्तावमा समर्थन जनाएमा सो संशोधन प्रस्ताव पारित भएको मानिने छ । साधारण सभाबाट पारित भएको मितिबाट विधान लागु भएको मानिने छ ।

अनुसूची – १
संस्थाको चिन्ह, छाप, झण्डा र तमुं राष्ट्रिय गीत

क. संस्थाको चिन्ह र छाप निम्न अनुसार हुने छ ।

ख. संस्थाको झण्डा निम्न अनुसार हुने छ ।

ग. संस्थाको राष्ट्रिय गीत निम्न अनुसार हुनेछ ।

लेखकः स्व.घन बहादुर गुरुङ, संगीतः कृष्ण गुरुङ

तिङ्गा द्योंले छल खाँर्जे
मुसारा द्योंले च्योलाँखांजे ॥
चु ङह्यो ह्यूलरी
चु ङह्यो कुलरी

प्रों छैं लसी टिमु ङमी
क्याँ छैं लसी टिमु ङमु ॥
चु ङह्यो ह्यूलरी
चु ङह्यो कुलरी

नौउ त्ओं द्यौले पिरसी प्रमु
नौंउ सें द्यौले सेसीं टिमु ॥
चु ङह्यो ह्यूलरी
चु ङह्यो कुलरी

नौंउ दो द्यौले ओरसी टिमु
चेह्यें द्यौले ङोरसी प्रमु ॥
चु ङह्यो ह्यूलरी
चु ङह्यो कुलरी

अनुसुची – २
यो विधान जारी हुँदासम्मको क्षेत्रिय इकाई समितिहरुको नामावली

१. प्लमस्टिड, २. रेडिङ, ३. लण्डन, ४. चारभंज्याङ, ५. केन्ट, ६. हेम्सायर र, ७. वोकिङ इकाई समिति ।

विधान मस्यौदा समिति

१. डा. चन्द्र बहादुर गुरुङ – संयोजक
२. भक्त गुरुङ
३. सुवासीङ गुरुङ
४. सुर्जे गुरुङ रामचन्द्र
५. क्या. नारायणबहादुर गुरुङ – प्लमस्टिड इकाई अध्यक्ष
६. ओमॆन्द्र गुरुङ – रेडिङ इकाई अध्य
७. चित्रबहादुर गुरुङ – लण्डन इकाई अध्यक्ष
८.ले.नारायणप्रसादगुरुङ -चारभाज्याङ इकाई अध्यक्ष
९. ले. किशोर गुरुङ – केन्ट ईकाइ अध्यक्ष
१०. नन्दजंग गुरुङ – हेम्सायर इकाई अध्यक्ष
११. धर्मराज गुरुङ – वोकिङ ईकाइ अध्यक्ष
१२. नरेश गुरुङ
१२. रोहित गुरुङ
१३. प्रेम गुरुङ ‘दुवो’
१४. लोक गुरुङ
१५. एबि गुरुङ
१७. पुष्पा गुरुङ
१८. यादव गुरुङ
१९. महेश गुरुङ
२०. ओम गुरुङ

(फेब्रुवरी २०, २०१० को साधारण सभाले पारित गरेको बिधान)

Leave a Reply

Copyright © 2012 Tamu Dhee UK. All rights reserved.
Design by: Hum Gurung - Powered by: WordPress